Friday, March 18, 2011

खेताला राखेर दरबन्दीका शिक्षक बालुवा व्यापारमा

रामेश्वर कार्की
धादिङ । धादिङको कुम्पुर गाविस स्थित एक प्राथमिक विद्यालयका शिक्षक साँढे दुइ वर्ष देखि खेताला राखेर बालुवा ब्यापारमा लागेका छन् । कुम्पुर गाविस १ मा रहेको कुम्पुर प्राविका प्राथमिक स्थायी दरबन्दीका शिक्षक इन्दुदास श्रेष्ठले आफ्नो दरबन्दीमा खेताला राखेर विद्यालयमा हाजिर नभई जागिर खाएका हुन् । उनले पाउने तलवको आधा रकम दिएर स्थानीय रामप्रसाद पन्तलाई खेताला राखेका हुन् । गजुरी बजारमा स्थायी बसोबास भएका उनी कुम्पुर जानु अघि गजुरीमै रहेको आदर्श उच्च माविको प्राथमिक शिक्षक थिए । ०४५ सालमा स्थायी भएका उनी पेन्सन हुन केहि समय बाँकी छँदा सोहि विद्यालयका शिक्षक माधव नेपालसंग म्याचुअल साटासाट गरी नेपाललाई घर पायक बनाएका थिए ।
कक्षा १ देखि ५ सम्म पढाई हुने कुम्पुर प्रावि सरुवा भएदेखि केहि समय विद्यालयमा हाजिर भए पनि कक्षा नलिएका उनले खेताला राखेर जागिर धान्दै आएका छन् । स्रोतका अनुसार श्रेष्ठको बदलामा काम गर्ने शिक्षक पन्तले मासिक ५ हजार ५ सय रुपैयाँ बुझ्छन् तर उनले पाउने तलव १० हजार ५ सय साठी रुपैयाँ हो । उनले पाउने तलव मध्य विद्यालयले घरमै गएर हाजिर गराए बापत एक हजार पाँच सय विद्यालयलाई दिने र बाँकी आफुले बुझ्दै आएका छन् । पछिल्लो समय भने खेताला मार्फत हाजिर गर्ने गरेको र विद्यालयलाई रकम नदिएको विद्यालय स्रोतले बतायो ।
श्रेष्ठ विद्यालय जानु भन्दा बालुवा व्यापारमा राम्रो आम्दानी हुने हुँदा व्यापार तिर लागेका हुन् । उनले पिडा गाविसमा बालुवा धुने मेसिन राखेर बालुवा बेच्दै आएका छन् ।
पटक पटक विद्यालयमा हाजिर हुन विद्यालय व्यवस्थापन समिति र स्रोत केन्द्रले अनुरोध गर्दा समेत अटेरी गरेर बसेका उनलाई लिखित र मौखिक रुपमा स्पस्टिकरण लिने तयारी गरिएको विद्यालयका प्रअ हरि खनालले जानकारी दिए । श्रेष्ठका सम्बन्धमा जिल्ला शिक्षा कार्यालयले समेत चासो दिइ रहेकोले आफु स्वयम् समस्यामा रहेको प्रअ खनालले बताए । तर जिल्ला शिक्षामा जानकारी भए पनि कुनै कारवाही गरिएको छैन । उनी नहुदा खेतालाले कक्षा धान्ने गरेकाले पढाइमा समस्या नभए पनि प्रशाशनिक काममा भने बाधा आउने गरेको विद्यालयले बतायो ।
कुम्पुरकै भुमेश्वर प्रविका शिक्षक प्रेम भण्डारी पनि विद्यालय गनई तीन वर्ष देखि तलव बुझ्दै आएका छन् । कक्षा १ देखि ३ सम्म पढाई हुने सो विद्यालयका प्रअ रहेका भण्डारी दिनहुँ मदिरा सेवन गरी विद्यालय नगई बाटोमा सुत्ने र अनियमित रुपमा विद्यालय जाने गरेकाले खेताला राखेर उनको बदलामा विद्यालय साचालन गिरंदै आएको हो । नियमित विद्यालय नजाने र जाँदा पनि विद्यालयको वातावरण समेत प्रभावित हुने हुँदा स्रोत व्यक्ति बाबुराम नेपालकै पहलमा खेताला राखेर पढाई साचालन गरिएको नाम नखुलाउने सर्तमा एक स्थानियले बताए । हाल उनका बदलामा दुई जना महिलालाई न्युनतम तलव दिएर खेताला राखिएको छ । सो विद्यालयमा एक दर्जनको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । भण्डारी एक्ला स्थायि दरबन्दीका शिक्षक हुन् ।

No comments: