Tuesday, February 3, 2009

धादिङमा चिकेन फेस्टिबल

रामेश्वर कार्की
धादिङ
देशभरीनै फैलिएको बर्डफ्लुको हल्लाले कुखुराको व्यवसायमा गिरावट आएपछि धादिङका कुखुरा पालक विसानहरु मर्कामा परेका छन् । दुई साता अघिसम्म जिउंदो कुखुरा प्रतिकिलो एक सय तीस रहेकोमा वर्डफ्लुको हल्लासंगै आज भोली असी रुपैयाँ प्रतिकिलोमा झरेको छ । देशका अन्य भागमा वर्डफ्लु फेला परेका हल्लाले धादिङमा समेत प्रभाव पारेपछि धादिङमा यो रोग नभएको प्रष्ट पार्न आज विभिन्न विज्ञहरुको समेत उपस्थितिमा चिकेन फेस्टिवल कार्यक्रम सम्पन्न गरिएको छ । कुखुराको मासु र अण्डाका विभिन्न परिकार बनाएर विज्ञ तथा सर्वसाधारणलाई निशुल्क रुपमा खुवाएर गरिएको सो कार्यक्रममा बाह्रसय पचास किलो ब्रोइलर कुखुराको मासु र तीन हजारवटा अण्डाको परिकार तयार गरिएको थियो । फेष्टिबलमा तयार गरिएको परिकार खाँदै पोल्ट्रि विशेषज्ञ डाक्टर कर्णबहादुर बोहोराले झापामा देखिएका बर्डफ्लु फैलन नभ्याउदै सकिने बताउदै मासुखान नडराउन सल्लाह दिए । डाक्टर वोहोराले पंक्षिबाट पंक्षिमा सर्ने रोग भएकाले मानिसमा त्यसको संक्रमण नरहने जानकारी गराउँदै सामान्य रोगलाई ठूलो रुपले नबुझिदिन आग्रह गरे । लामो समयदेखी धादिङका कुखुरा व्यवसायीले काठमाडौ मार्केटलाई थेगेको कुरा उल्लेख गर्दे एमाले केन्द्रिीय नेता राजेन्द्र पाण्डेले धादिङमा वर्डफ्लु नभएको सन्देश सबै सामु पुर् याउन सवैपक्ष लाग्नु पर्ने वताए । दुईसाता अघि एकसय तीस रुपयाँ प्रति किलोग्राममा बिक्री हुँदै आएको कुखुराको मासु हाल असी रुपैयाँमा झरेको छ । धादिङमा करिव पाँचसय परिवारले यो व्यवसाय गर्दै आएका छन् । राष्ट्रिय कुखुरा पालन किसान संघ धादिङको आयोजनमा सम्पन्न कार्यक्रममा जिल्लाबाट हरेक महिना दुई लाख कुखुरा अर्थात चारलाख किलोग्राम मासु उत्पादन हुँदै आएको जानकारी कुखुरा व्यवसायि शिवहरि आचार्यले जानकारी दिए कार्यक्रमलाई रोचक बनाउन प्रगतिशील गायक बद्री पंगेनी र गायिका शिला आलेले गित संगितका माध्यमबाट हल्लाका पछाडि नलागि कुखुराको मासु खान आग्रह गरेका थिए ।

No comments: