Sunday, December 14, 2008

तुइनले च्यापेर चौरासीजनाको औंला गुम्यो


धादिङ, २८ मंसिर त्रिशूली नदी वारपार गर्न निर्माण गरिएको तुइनमा च्यापिएर धादिङ बैरेनी र कल्लेरी गाविसका ८४ जनाको औंला गुमेको छ । बैरेनी गाविस-९ र कल्लेरी-३ जोड्ने तुइनबाट नदी तर्ने क्रममा च्यापिएर स्थानीय बासिन्दा कतिपयको एउटा र कतिको पाँचवटै औंला गुमेको छ । औंला गुमाएका कल्लेरीका स्थानीय हीराबहादुर मल्लले कतिपयको त जोखिम यात्रा गर्दा त्रिशूलीमा खसेर मृत्यु भएको बताए । उनका अनुसार त्रिशूलीमा खसेर चारजनाले ज्यान गुमाएका छन् । नदीपारीका बासिन्दाका लागि विद्यालय, बजार तथा कुटानी-पिसानीका लागि पनि बैरेनी आउनुपर्ने बाध्यता छ । कल्लेरीका स्थानीय जगनाथ नेपालले सम्पूर्ण सुविधा पारी भएका कारण दैनिक दुई/तीनपटक तुइनबाट आवत-जावत गरिने बताए । बालबालिका पनि दैनिक तुइनबाटै विद्यालय जाने गरेका छन् । कल्लेरीकी शोभा ठकुरीले सात वर्षअघि विद्यालय जाँदा तुइनमा च्यापिएर औंला गुमाएकी छिन् । तुइनले चुँडाएको डुँडोऔंलो देखाउँदै ठकुरी भन्छिन्, 'म मात्रै होइन यो गाउँमा प्रायः सबैको यस्तै नियति हो ।' तुइनको डोरी तान्दै गर्दा एक्कासि औंला च्यापिएपछि पीडाले नदीमा खसेर कतिपयको मृत्यु भएको उनले सुनाइन् । तुइनबाट झर्नेहरू बढी विद्यार्थी नै भएको उनको भनाइ छ । तुइनबाट नदीमा खस्ने चारजना बाँचेका छन् । नदीमा खसेर पनि बाँचेकी स्थानीय सृजना ठकुरीले सरकारी उदासीनताका कारण गाउँले पीडित भएको गुनासो गरिन् । दुई गाविस जोड्न झोलुंगे पुल निर्माणका लागि पटक-पटक सर्वे गरिए पनि बन्न सकेको छैन । स्थानीय बासिन्दाले सरकारी निकायका साथै राजनीतिक दलले पुल निर्माणमा चासो नदिएको आरोप लगाएका छन् । सबैको उदासीनताका कारण नदी आसपासका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुई दशकअघि निर्माण भएको तुइन पनि मर्मत भएको छैन । तुइनको घिर्नी बिगि्रएका कारण एकजना मात्र वारपार गर्न कठिन छ । स्थानीय लीलादेवी खतिवडाले भारी र बच्चा बोक्नेहरूका लागि तुइन तान्ने अर्को व्यक्ति घरबाटै लैजानुपर्ने बाध्यता रहेको बताइन् । पृथ्वीराजमार्ग नजिकको सो गाउँका बासिन्दाले आप\mनो उत्पादन बजारसम्म पुर्‍याउन पनि कठिन छ ।

No comments: