Wednesday, December 24, 2008

चक्काजाम रहित जिल्ला हुँदैछ धादिङ

रामेश्वर कार्की
धादिङ ९ पुस
धादिङलाई चक्काजाम रहित जिल्ला बनाउन स्थानीय स्तरमा छलफल तथा अन्तरकृया कार्यक्रम सुरु गरिएको छ । यहि पुस पाँच गते मलेखुमा आयोजना गरिएको चक्काजाम रहित जिल्ला धादिङ विषयक वृहत छलफल कार्यक्रम पश्चात जिल्लाका चार वटा प्रहरी चौकीको क्षेत्र पाएक पर्ने स्थानमा स्थानीय समिति निर्माण गर्ने काम सुरु गरिएको हो । स्थानीय स्तरमा घट्ने घटना सोहि स्थानमा मिलाउने उद्देश्यका साथ बुधवार ईलाका प्रहरी कार्यालय खानीखोलाको आयोजनामा सम्पन्न अन्तरकृया कार्यक्रममा प्रहरी निरिक्षक सुवासचन्द्र बोहराको संयोजकत्वमा एक समितिको गठन समेत गरिएको छ । प्रारम्भिक चरणको सो कार्यक्रमले धादिङलाई चक्काजाम रहित जिल्ला घोषणा गर्न स्थानीय स्तरका समितिले सहयोग पुर् याउने विश्वास लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक घनश्याम अर्यालले बताए । राजधानी भित्रिने र बाहिरिने देशको एकमात्र प्रमुख नाका धादिङको पृथ्वीराजमार्ग नागढुङ्गा देखि मौवाखोला सम्मको चौरासी किलोमिटर क्षेत्र यस अघि विभिन्न वहानामा बन्द गर्ने परिपाटी रहेको थियो । घण्टौं सम्म राजमार्ग बन्द हुनाले विभिन्न स्थानबाट आएका यात्रुहरुले विना कारण सास्तिभोग्दै आएका थिए । आगामी दिनहरुमा यस्तो खालको गतिविधी रोक्नका लागि स्थानीय स्तरका समितिबाट राजमार्ग बन्द गर्ने परिपाटीको अन्त्य गर्न सहयोग गर्ने कार्यक्रमका सहभागी सबैलॆ प्रतिवद्धता जनाए । घटना घटिसकेपछि घाईतेको उपचार कानुनी कार्वाहि र राहतको विषयलाई लिएर गरिने बन्दको अन्त्य गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दुर्घटना उद्धार राहत कोषको समेत स्थापना गरिएको छ । घटना घटेपछि सवारी साधन भागेर पत्ता नलागेको खण्डमा कि्रया खर्च तथा उपचार खर्चको विषयमा बाटो बन्द नहोस भन्नका लागि सोहि कोषको रकम खर्च गरेर समस्या समाधान गरिनॆ प्रहरी नायव उपरिक्षक घनश्याम अर्यालले बताए । राजमार्गमा चक्काजाम रहित गराउन स्थानीय समिति गठन गर्ने निर्णय अनुसारे बेनीघाट गजुरी र बैरेनीमा छिटै समिति गठन गरिने सो कार्यक्रममा जानकारी गराईयो । राजमार्गमा दुर्घटना न्यूनिकरणका लागि सडक मर्मत नियमित चेक जाँच ट्राफिक सचेतना कार्यक्रम लगाएतका गतिविधी गरिने कार्यक्रममा प्रतिबद्धता गरिएको छ ।

No comments: