Sunday, December 28, 2008

विद्यालयबाटै चोरिन्छन् वालिकाहरु

रामेश्वर कार्की
धादिङ १३ पुस
उच्च शिक्षा हासिल गर्नका लागि विद्यालय गएका वालिकाहरु विद्यालयबाटै चोरि हुन्छन् । सुन्दा अनौठो लाग्छ तर यो वास्तविकता हो धादिङ मैदी-९ पिपलटारमा रहेको पिपलटार निमाविको । यहाँ अध्ययन गर्ने अधिकांश वालिकाहरु प्रावि स्तरको पढाई पुरा नगर्दै चोरि विवाहको सिकार हुने गरेका सोहि विद्यालयकी शिक्षिका अन्जु घिमिरेले जानकारी दिईन् । विद्यालय पढ्दा पढ्दै चोरि विवाह गरेर लैजाने कुरा सो गाउँमा अनौठो नभएको शिक्षिका घिमिरे बताउँछिन्
यसरी चोरी विवाहबाट पढाई अगाडि बढ्न नसक्ने भएको हुँदा पिपलटार निमाविमा पढेका छात्राहरु कक्षा पाँच उत्तिर्ण भेट्न नसकिने गाउँलेहरु बताउँछन् । चोरी विवाहबाट आक्रान्त बनेको पिपलटारमा प्रावि तह पुरा नगरि विवाह गरेका हाल सम्म आठ जना बालिकाको को जानकारी छ । एक प्रकारको रोगकै रुपमा फैलिएको यस्तो विवाहको पछिल्लो निशाना गत कात्तिक १८ गते कक्षा दुईमा पढ्दै गरेकी विजुला कुमाल बनिन् । प्रत्यक्ष दर्शी भन्दै थिए दुईजना केटाहरु आएका थिए । स्कुलबाट घर पुग्ने वित्तिकै ड्रेस फरेर निस्किएकी उनी बेलुकी खोज्दा त विहेगरेर गईसकेको पो थाहा भयो । उनी मात्र हैन यसै वर्ष अर्की कान्छी कुमालको पनि कक्षा तीनमा पढ्दै गर्दा चोरी विवाह भयो । यि दुई छात्राहरु त प्रतिनिधी पात्र मात्र हुन् । यहाँको संस्कारै यस्तै भएको निमाविका शिक्षक जीवन श्रेष्ठले बताए । विद्यालयमा पढ्दै गर्दा विवाह गरेर गएपछि उनीहरु लाजले पढ्न छाड्ने गरेका शिक्षकहरु बताउँछन् । घरायसी काम र पारिपारिक जिम्मेवारी बढेपछि पढाई अघि बढाउन नसकिने भएकाले केटी मात्र होईन केटाहरुले पनि विद्यालय उमेरमै विवाह भएपछि पढाई छाड्छन् । सानै उमेरमा चोरी विवाह गरेर गए पनि घर परिवारले चासो नदिने शिक्षकहरु बताउँछन् । चोरी विवाहको सिकार बनेकी विजुलाको बाबु आफुले मागि विवाह गरेर दिँदा पछि दुःख पाई भने आफैलाई अप्ठ्यारो पर्ने र सम्पत्ती दिन नसक्ने भएकाले चासो नदिएको बताउँछन् । पछिल्लो समयमा चोरी विवाह गर्ने चलन विकासहुँँदै गए पनि कुमालको संस्कार भने यस्तो नभएको स्थानीय बृद्ध रामबहादुर कुमाल बताउँछन् । उनी भन्छन् पहिले यस्तो थिएन आज भन्दा झण्डै बीस वर्ष अघि मिति त थाहा भएन एउटी केटीलाई चार जना केटाहरु आएर मकै बारी बारी तानेर लगेका थिए त्यस पछि त सबैले यस्तै सिको गरे अहिले सबै यसरी नै विहे गर्छन् । चोरी विवाह गर्नलाई केटा केटी बीच प्रेम बस्नै पर्छ भन्ने छैन यहाँको लागी । केटालाई केटी मन पर् यो भने साँझ तथा मेलामा दल बल सहित आएर तानेर लाने गरिएको स्थानीय सन्तबहादुर कुमालले जानकारी दिए । केटी चोर्न आएकाहरुको बल नपुगे सिँन्धुर हालेर भएपनि भाग्छन् । कुमाल परम्परा अनुसार सिँन्धुर हालेपछि बिटुलिने भएकाले केटी पक्षकाहरु केटाको घरमै छोरी पुर् याउन जाने गरेको गाउँलेले बताए । विद्यालय पढ्ने उमेरमा विवाह गर्ने र अन्य घरायसी कारणले गर्दा विद्यालय छाड्ने क्रम अन्यत्रको तुलनामा पिपलटारमा बढी छ । यहाँको मानिसमा शैक्षिक चेतनाको अभावका कारण त्रियानब्बे घर धुरी रहेको कुमाल बस्तिमा हाल सम्म कसैले पनि एसएलसी उत्तिर्ण गरेका छैनन् । महिलाहरुमा कक्षा पाँच सम्म उत्तिर्ण गर्ने समेत फेला पार्न सकिन्न भने पुरुषमा दुईजनाले कक्षा दश उत्तिर्ण गरि एसएलसीमा फेल भएका छन् । कक्षा दश उत्तिर्ण गर्नेहरुमा सन्तबहादुर र ठाकुर कुमाल रहेका छन् । २०३४ सालमा पिपलटार प्राविको स्थापना भए पनि पढ्नुपर्छ भन्ने चेतनाको कमीका कारण सो स्थानको शैक्षिक अवस्था अघि बढ्न नसकेको नजिकै गाउँका मानिसहरु बताउँछन् ।

No comments: