Tuesday, December 23, 2008

चक्काजाम रहित जिल्ला धादिङ

रामेश्वर ।
धादिङ ५ पुस
धादिङलाई चक्काजाम रहित जिल्ला घोषणा गर्न चक्काजाम रहित जिल्ला धादिङ विषयक वृहत छलफल कार्यक्रम धादिङको मलेखुमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा सम्पन्न प्रारम्भिक चरणको सो कार्यक्रमले धादिङलाई बन्द मुक्त क्षेत्र घोषणा गर्न स्थानीय स्तरमा समिति गठन लगाएतका कार्यहरु गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक घनश्याम अर्यालले बताउनु भयो । राजधानी भित्रिने र बाहिरिने देशको एकमात्र प्रमुख नाका धादिङको पृथ्वीराजमार्ग नागढुङ्गा देखि मौवाखोला सम्मको चौरासी किलोमिटर क्षेत्र यस अघि विभिन्न वहानामा बन्द गर्ने परिपाटी रहेको थियो । घण्टौं सम्म्म राजमार्ग बन्द हुनाले विभिन्न स्थानबाट आएका यात्रुहरुले विना कारण सास्तिभोग्दै आएका थिए । आगामी दिनहरुमा यस्तो खालको गतिविधी रोक्नका लागि स्थानीय स्तरमा समिति बनाई बन्द गर्ने परिपाटीको अन्त्य गर्न कार्यक्रममा सहभागी सबैले सहयोग गर्ने प्रतिवद्धता जाए । घटना घटिसकेपछि घाईतेको उपचार कानुनी कार्वाहि र राहतको विषयलाई लिएर गरिने बन्दको अन्त्य गर्न दुर्घटना उद्धार राहत कोषको समेत स्थापना गरिएको छ । घटना घटेपछि सवारी साधन भागेर पत्ता नलागेको खण्डमा कि्रया खर्च तथा उपचार खर्चको विषयमा बाटो बन्द नहोस भन्नका लागि सोहि कोषको रकम खर्च गरेर समस्या समाधान गरिने प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापाले बताउनु भयो । बन्द मुक्त गराउन स्थानीय समिति गठन गर्ने निर्णय अनुसार जिल्लाको बेनीघाट गजुरी बैरेनी र खानीखोलामा समिति गठन गरिने कार्यक्रममा जानकारी गराईयो । पटक पटक बन्द भएर लाखौं यात्रुले सास्ति पाउने गरेको राजमार्ग चक्काजाम मुक्त क्षेत्र घोषणा हुनु स्वागत योग्य कुरा हो । प्रहरी र स्थानीयबासीहरुको यो नयाँ कार्य देशभरिका जनताले उदाहरणिय रुपमा लिएका छन् । तर व्यवहारमा उतारेर निर्णयको अक्षरश पालना गरेर देखाउने हो भने धादिङेहरु सबैको धन्यवादको पात्र हुनेछन् ।

No comments: