Sunday, December 28, 2008

नौ वर्ष देखि शरीर भित्र बमको छर्रा

रामेश्वर कार्की
धादिङ कल्लेरीकी १४ वर्षिय दिला कार्कीले शरीर भित्र बमका छर्रा बोकेर बसेको नौ वर्ष भयो । २०५६ साल माघ १५ मा भरखर पाँच वर्षकी अवोध बालिका दिला अहिले चौध वर्षकी भईन् । हाल उनी कक्षा सातमा पढ्छिन् । गाउँका दाजुहरुले जंगलमा भेट्टाएर ल्याएको खेलौना हेर्न जाँदा नचिनेको डल्लो खेलाउँदा खेलाउँदै एक्कासी पड्किएर उनी घाईते भएकी हुन । उनले हातको एउटा औंला र तीन वटा दाँत समेत गुमाईन् तर समयमै सहि उपचार नपाउँदा दाहिने आँखा मुनी रहेको छर्रा नौ वर्षदेखि लिएर पिडादायिक जिवन बाँचिरहेकी छिन् । उनी संगै रहेका ६ जना स्कुले वालवालिकाको घटना स्थलमै मृत्यु भयो भने अर्का एक जना मरणासन्न हुनेगरी घाईते भए । तत्कालिन समयमा नेपाली सेनाले छाडेको बम गोगनपानीको रातेडाँडामा दाउरा खोज्न जाँदा भेट्टाएर घर ल्याई खेलाउँदा पड्किएको थियो । सेनाको नियमित फायरिङ गर्ने सो स्थानमा बेवारिसे अवस्थामा फेलापारिएको बम गाउँका सबै बालबालिका जम्मा भएर बाचराले हान्दा समेत नपड्किए पछि हँसिया फुकालेर घोच्दा पड्किएको घाईते सुन्दर कार्कीले बताए । सेनाकै लापरवाहिले विद्यालय उमेर समुहका ६ जना बालबालिका मरे भने दुई जना हाल सम्म पनि अपाङ्ग भएर बाँचिरहेका छन् । द्वन्दका बेला सरकार र विद्रोही माओवादी बाट यस्ता अनगिन्ति गल्ति भएका छन् । तर गल्ति त भयो मर्ने मरे घाईते हुने भए । सरकारले पिडित परिवारलाई उचित राहत नदिएर कानमा तेल हालेर बसिरहेको छ । अपाङ्ग छोरी दिलाकी आमा सावित्री कार्की सेनाले गल्ति गरेकाले उपचार र सामान्य राहत दिएर आफ्ानो गाल टारेको बताउँछिन् । घटनाको विषयमा थप जानकारी लिन खोज्दा उनी दुःखी हुँदै भन्छिन् तापाईहरु संग जति दुखेसो पोखेपनि कसैले चासो दिएको होईन भन्दै विगत कोट्याउनु भन्दा विस्रनै बेश । पाँच वर्षकी छँदा अपाङ्गभएकी दिला अहिले कक्षा ७ मा पढ्छिन् । अनुहारै विगि्रनेगरि चोटलागेकी उननी आँखा कम देख्छिन् । बेला बेलामा बिजाएर आँशु आउने र पढ्न नसक्ने बताउँछिन् । उनी संगै घाईते भएका सुन्दर कार्कीको खुट्टा राम्ररी टेक्न मिल्दैन । १३ वर्षको उमेरमा सेनाको लापरवाहिले कुँजो हुन पुगेका उनी बाँच्ने सम्मको उपचार त भयो अहिले पढ्ने खर्च जुटाउन काम गर्न पनि सकिँदैन सरकारले पनि वेवास्ता गरेकोमा दुःख मान्छन् । सुन्दर संगै बम खेलाएका अन्य ६ जना साथिले ज्यानै गुमाए तर सरकारले उचित क्षतिपूर्ति र राहत नदिई कानमा तेल हालेर बसेको कार्कीको आरोप छ । सरकारले द्वन्दमा परिवारका सदस्य गुमेका परिवारलाई राहत दिने निर्णय गरेको छ । तर स्थलगत अध्ययन नगरि सिफारिसको भरमा काम गर्दा सहि व्यक्तिले नपाउने हुँदा पिडितहरु यस तर्फ ध्यान दिन सरकारलाई सुझाव दिन्छन् ।

विद्यालयबाटै चोरिन्छन् वालिकाहरु

रामेश्वर कार्की
धादिङ १३ पुस
उच्च शिक्षा हासिल गर्नका लागि विद्यालय गएका वालिकाहरु विद्यालयबाटै चोरि हुन्छन् । सुन्दा अनौठो लाग्छ तर यो वास्तविकता हो धादिङ मैदी-९ पिपलटारमा रहेको पिपलटार निमाविको । यहाँ अध्ययन गर्ने अधिकांश वालिकाहरु प्रावि स्तरको पढाई पुरा नगर्दै चोरि विवाहको सिकार हुने गरेका सोहि विद्यालयकी शिक्षिका अन्जु घिमिरेले जानकारी दिईन् । विद्यालय पढ्दा पढ्दै चोरि विवाह गरेर लैजाने कुरा सो गाउँमा अनौठो नभएको शिक्षिका घिमिरे बताउँछिन्
यसरी चोरी विवाहबाट पढाई अगाडि बढ्न नसक्ने भएको हुँदा पिपलटार निमाविमा पढेका छात्राहरु कक्षा पाँच उत्तिर्ण भेट्न नसकिने गाउँलेहरु बताउँछन् । चोरी विवाहबाट आक्रान्त बनेको पिपलटारमा प्रावि तह पुरा नगरि विवाह गरेका हाल सम्म आठ जना बालिकाको को जानकारी छ । एक प्रकारको रोगकै रुपमा फैलिएको यस्तो विवाहको पछिल्लो निशाना गत कात्तिक १८ गते कक्षा दुईमा पढ्दै गरेकी विजुला कुमाल बनिन् । प्रत्यक्ष दर्शी भन्दै थिए दुईजना केटाहरु आएका थिए । स्कुलबाट घर पुग्ने वित्तिकै ड्रेस फरेर निस्किएकी उनी बेलुकी खोज्दा त विहेगरेर गईसकेको पो थाहा भयो । उनी मात्र हैन यसै वर्ष अर्की कान्छी कुमालको पनि कक्षा तीनमा पढ्दै गर्दा चोरी विवाह भयो । यि दुई छात्राहरु त प्रतिनिधी पात्र मात्र हुन् । यहाँको संस्कारै यस्तै भएको निमाविका शिक्षक जीवन श्रेष्ठले बताए । विद्यालयमा पढ्दै गर्दा विवाह गरेर गएपछि उनीहरु लाजले पढ्न छाड्ने गरेका शिक्षकहरु बताउँछन् । घरायसी काम र पारिपारिक जिम्मेवारी बढेपछि पढाई अघि बढाउन नसकिने भएकाले केटी मात्र होईन केटाहरुले पनि विद्यालय उमेरमै विवाह भएपछि पढाई छाड्छन् । सानै उमेरमा चोरी विवाह गरेर गए पनि घर परिवारले चासो नदिने शिक्षकहरु बताउँछन् । चोरी विवाहको सिकार बनेकी विजुलाको बाबु आफुले मागि विवाह गरेर दिँदा पछि दुःख पाई भने आफैलाई अप्ठ्यारो पर्ने र सम्पत्ती दिन नसक्ने भएकाले चासो नदिएको बताउँछन् । पछिल्लो समयमा चोरी विवाह गर्ने चलन विकासहुँँदै गए पनि कुमालको संस्कार भने यस्तो नभएको स्थानीय बृद्ध रामबहादुर कुमाल बताउँछन् । उनी भन्छन् पहिले यस्तो थिएन आज भन्दा झण्डै बीस वर्ष अघि मिति त थाहा भएन एउटी केटीलाई चार जना केटाहरु आएर मकै बारी बारी तानेर लगेका थिए त्यस पछि त सबैले यस्तै सिको गरे अहिले सबै यसरी नै विहे गर्छन् । चोरी विवाह गर्नलाई केटा केटी बीच प्रेम बस्नै पर्छ भन्ने छैन यहाँको लागी । केटालाई केटी मन पर् यो भने साँझ तथा मेलामा दल बल सहित आएर तानेर लाने गरिएको स्थानीय सन्तबहादुर कुमालले जानकारी दिए । केटी चोर्न आएकाहरुको बल नपुगे सिँन्धुर हालेर भएपनि भाग्छन् । कुमाल परम्परा अनुसार सिँन्धुर हालेपछि बिटुलिने भएकाले केटी पक्षकाहरु केटाको घरमै छोरी पुर् याउन जाने गरेको गाउँलेले बताए । विद्यालय पढ्ने उमेरमा विवाह गर्ने र अन्य घरायसी कारणले गर्दा विद्यालय छाड्ने क्रम अन्यत्रको तुलनामा पिपलटारमा बढी छ । यहाँको मानिसमा शैक्षिक चेतनाको अभावका कारण त्रियानब्बे घर धुरी रहेको कुमाल बस्तिमा हाल सम्म कसैले पनि एसएलसी उत्तिर्ण गरेका छैनन् । महिलाहरुमा कक्षा पाँच सम्म उत्तिर्ण गर्ने समेत फेला पार्न सकिन्न भने पुरुषमा दुईजनाले कक्षा दश उत्तिर्ण गरि एसएलसीमा फेल भएका छन् । कक्षा दश उत्तिर्ण गर्नेहरुमा सन्तबहादुर र ठाकुर कुमाल रहेका छन् । २०३४ सालमा पिपलटार प्राविको स्थापना भए पनि पढ्नुपर्छ भन्ने चेतनाको कमीका कारण सो स्थानको शैक्षिक अवस्था अघि बढ्न नसकेको नजिकै गाउँका मानिसहरु बताउँछन् ।

Wednesday, December 24, 2008

चक्काजाम रहित जिल्ला हुँदैछ धादिङ

रामेश्वर कार्की
धादिङ ९ पुस
धादिङलाई चक्काजाम रहित जिल्ला बनाउन स्थानीय स्तरमा छलफल तथा अन्तरकृया कार्यक्रम सुरु गरिएको छ । यहि पुस पाँच गते मलेखुमा आयोजना गरिएको चक्काजाम रहित जिल्ला धादिङ विषयक वृहत छलफल कार्यक्रम पश्चात जिल्लाका चार वटा प्रहरी चौकीको क्षेत्र पाएक पर्ने स्थानमा स्थानीय समिति निर्माण गर्ने काम सुरु गरिएको हो । स्थानीय स्तरमा घट्ने घटना सोहि स्थानमा मिलाउने उद्देश्यका साथ बुधवार ईलाका प्रहरी कार्यालय खानीखोलाको आयोजनामा सम्पन्न अन्तरकृया कार्यक्रममा प्रहरी निरिक्षक सुवासचन्द्र बोहराको संयोजकत्वमा एक समितिको गठन समेत गरिएको छ । प्रारम्भिक चरणको सो कार्यक्रमले धादिङलाई चक्काजाम रहित जिल्ला घोषणा गर्न स्थानीय स्तरका समितिले सहयोग पुर् याउने विश्वास लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक घनश्याम अर्यालले बताए । राजधानी भित्रिने र बाहिरिने देशको एकमात्र प्रमुख नाका धादिङको पृथ्वीराजमार्ग नागढुङ्गा देखि मौवाखोला सम्मको चौरासी किलोमिटर क्षेत्र यस अघि विभिन्न वहानामा बन्द गर्ने परिपाटी रहेको थियो । घण्टौं सम्म राजमार्ग बन्द हुनाले विभिन्न स्थानबाट आएका यात्रुहरुले विना कारण सास्तिभोग्दै आएका थिए । आगामी दिनहरुमा यस्तो खालको गतिविधी रोक्नका लागि स्थानीय स्तरका समितिबाट राजमार्ग बन्द गर्ने परिपाटीको अन्त्य गर्न सहयोग गर्ने कार्यक्रमका सहभागी सबैलॆ प्रतिवद्धता जनाए । घटना घटिसकेपछि घाईतेको उपचार कानुनी कार्वाहि र राहतको विषयलाई लिएर गरिने बन्दको अन्त्य गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दुर्घटना उद्धार राहत कोषको समेत स्थापना गरिएको छ । घटना घटेपछि सवारी साधन भागेर पत्ता नलागेको खण्डमा कि्रया खर्च तथा उपचार खर्चको विषयमा बाटो बन्द नहोस भन्नका लागि सोहि कोषको रकम खर्च गरेर समस्या समाधान गरिनॆ प्रहरी नायव उपरिक्षक घनश्याम अर्यालले बताए । राजमार्गमा चक्काजाम रहित गराउन स्थानीय समिति गठन गर्ने निर्णय अनुसारे बेनीघाट गजुरी र बैरेनीमा छिटै समिति गठन गरिने सो कार्यक्रममा जानकारी गराईयो । राजमार्गमा दुर्घटना न्यूनिकरणका लागि सडक मर्मत नियमित चेक जाँच ट्राफिक सचेतना कार्यक्रम लगाएतका गतिविधी गरिने कार्यक्रममा प्रतिबद्धता गरिएको छ ।

Tuesday, December 23, 2008

विद्यालयमा केरा खेित

रामेश्वर कार्की
धादिङ
विद्यालयको आयआर्जन बृद्धिका लागि धादिङको एक विद्यालयले दुई रोपनी जमिनमा केरा खेति गरेको छ । आदमटारमा साचालित सत्यवती उच्च माध्यिमक विद्यालयले एसपिडब्लु र सत्यवती गि्रन क्लवको सहयोगमा विद्यालयको दुई रोपनी जमिनमा दुई सय वटा विरुवा केरा रोपेकॊ हो । विद्यार्थीहरुले विभिन्न कृयाकलाप गर्नको लागि आर्थिक संकट व्यहोर्नु नपरोस भनेर केरा रोपएिको विद्यालयका प्रधानाध्यापक लक्ष्मण शर्माले बताए । एक महिना अघि सबै विद्यार्थी मिलेर लगाएको केरा दिन दिनै कति ठुलो भयो भनेर विद्यार्थीहरु हेरचाह र गोडमेल गर्न आईरहन्छन् । फुस्रदको समयमा खेल्नु भन्दा केराबारीमा गएर बस्न रमाइृलो लाग्ने उनीहरु बताउँछन् । विद्यालय संगै जोडिएर रहेको खाली जमिनको उपयोग संगै आय आर्जन पनि हुने गि्रन क्लवका पदाधिकारीहरु बताउँछन् । लगाएको एक वर्षमा उत्पादन दिने हाईवि्रड प्रजातिको केरा धादिङबेसीबाट १५ सय रुपैयाँमा खरिद गरेर ल्याईएको प्रधानाध्यापक शर्माले बताए । उत्पादित केरा आदमघाट बजारमा विकि्र गरि विद्यार्थीको हितका निमित्त अतिरिक्त कृयाकलापमा खर्च गर्ने विद्यालयले जनाएको छ । विद्यार्थीलॆ चाहेको कार्यक्रम गर्न आर्थिक अभाव नहुने भएपछि विद्यर्थीहरु हौसिएका छन् ।

अझै पाएनन् क्षतिपूर्ति

रामेश्वर कार्की
द्वन्दको बेला माओवादी विरुद्ध लड्नका लागि सर्वसाधारणलाई घरबाहिर निकालेर बसेको सेनाले अझैसम्म पनि क्षतिपूर्ति निदंदा पिडित गाउँले आक्रोशित बनेका छन् । सेनाले सुरक्षाको लागि भनेर जोगिमारा गाविस-९ फजिमटारका १४ जनाको घरजग्गा कब्जामा लिएको लामो समय भइसके पनि पीडित परिवारले क्षतिपूर्ति नपाएका हुन् । ९ जनको परिवार भएको हरिकुमार घिमिरेलाई घरको क्षतिपूर्ति नआउँदा निकैनै अप्ठेरो परेको छ । घिमिरेकी पत्नि व्यवरेक राखेपछि भएको भिडन्तको समयमा घरै थर्कने गरि पड्केको बमको आवाजले अहिलेपनि विरामी छन् । बेलाबेलामा झस्कने रुने कराउने लगायतका लक्षण देखिएकोले उपचार गरिरहेकॊ घिमिरेले बताए । घिमिरेको घर जग्गासबै ब्यारेक भित्र परेको छ । हालसम्म पनि बस्ने व्यवस्था नभएकोले पटक पटक जग्गामाग गर्दा पनि बेवास्ता गरिएकॊ गुनासो उनले गरे । ४ रोपनी जग्गा र फलफूल सबैको क्षतिपूर्ति दिने भनेर लिएको भएपनि हालसम्म दुई पटक मात्र बालिको क्षतिपूर्ति भनेर थोरै रकम पाएकोले घरखर्च चलाउन समेत समस्या परेको घिमिरेको भनाइ छ । सरकारले क्षतिपूर्ति नदिनेहो भने उधारोमा चामल तेल खाएको सामानको ऋण तिर्न समेत नसकिने अवस्थामा पुगेकोले घिमिरेले तत्काल सहयोग गर्न जिल्ला प्रशासन कार्यालयमा माग गरेका छन् । ज्गिमाराका घिमिरे टेकवहादुर राउत बाबुराम राउत र राममणि राउतको अवस्था पनि उस्तै छ । एकवहादुर खाँण हरिवहादुर खाँण कमलवहादुर खाँण यज्ञवहादुर खाँण दीपवहादुर खाँण केन्द्रवहादुर खाँण इन्द्रनाथ त्रिपाठी र रामकृष्ण राउतको जग्गा व्यारेक भित्र परेकाले अझैसम्म पनि क्षतिपूर्ति नपाएको उनिहरुको गुनासो छ ।

चक्काजाम रहित जिल्ला धादिङ

रामेश्वर ।
धादिङ ५ पुस
धादिङलाई चक्काजाम रहित जिल्ला घोषणा गर्न चक्काजाम रहित जिल्ला धादिङ विषयक वृहत छलफल कार्यक्रम धादिङको मलेखुमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा सम्पन्न प्रारम्भिक चरणको सो कार्यक्रमले धादिङलाई बन्द मुक्त क्षेत्र घोषणा गर्न स्थानीय स्तरमा समिति गठन लगाएतका कार्यहरु गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक घनश्याम अर्यालले बताउनु भयो । राजधानी भित्रिने र बाहिरिने देशको एकमात्र प्रमुख नाका धादिङको पृथ्वीराजमार्ग नागढुङ्गा देखि मौवाखोला सम्मको चौरासी किलोमिटर क्षेत्र यस अघि विभिन्न वहानामा बन्द गर्ने परिपाटी रहेको थियो । घण्टौं सम्म्म राजमार्ग बन्द हुनाले विभिन्न स्थानबाट आएका यात्रुहरुले विना कारण सास्तिभोग्दै आएका थिए । आगामी दिनहरुमा यस्तो खालको गतिविधी रोक्नका लागि स्थानीय स्तरमा समिति बनाई बन्द गर्ने परिपाटीको अन्त्य गर्न कार्यक्रममा सहभागी सबैले सहयोग गर्ने प्रतिवद्धता जाए । घटना घटिसकेपछि घाईतेको उपचार कानुनी कार्वाहि र राहतको विषयलाई लिएर गरिने बन्दको अन्त्य गर्न दुर्घटना उद्धार राहत कोषको समेत स्थापना गरिएको छ । घटना घटेपछि सवारी साधन भागेर पत्ता नलागेको खण्डमा कि्रया खर्च तथा उपचार खर्चको विषयमा बाटो बन्द नहोस भन्नका लागि सोहि कोषको रकम खर्च गरेर समस्या समाधान गरिने प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापाले बताउनु भयो । बन्द मुक्त गराउन स्थानीय समिति गठन गर्ने निर्णय अनुसार जिल्लाको बेनीघाट गजुरी बैरेनी र खानीखोलामा समिति गठन गरिने कार्यक्रममा जानकारी गराईयो । पटक पटक बन्द भएर लाखौं यात्रुले सास्ति पाउने गरेको राजमार्ग चक्काजाम मुक्त क्षेत्र घोषणा हुनु स्वागत योग्य कुरा हो । प्रहरी र स्थानीयबासीहरुको यो नयाँ कार्य देशभरिका जनताले उदाहरणिय रुपमा लिएका छन् । तर व्यवहारमा उतारेर निर्णयको अक्षरश पालना गरेर देखाउने हो भने धादिङेहरु सबैको धन्यवादको पात्र हुनेछन् ।

Wednesday, December 17, 2008

शिक्षक माथि माओवादीको श्रृङ्खलाबद्ध आक्रमण सुरक्षा नदिने निरिह प्रशाशन


धादिङ ।
संविधान सभाको निर्वाचन मार्फत राज्यको प्रमुख वागडोर संहाल्न पुगेको माओवादीले युद्धकालमा झैं आक्रमण र ज्यान मार्ने धम्कीको क्रम जारि राखेको छ । पछिल्लो समयमा चुनावि केशमा आफुलाई असहयोग गरेको र आÏनो भन्दा फरक आस्था राखेको विषयलाई ईगोको रुपमा आक्रमण गर्ने गरेको पाईएको छ । माओवादीले अन्य विचार भएका मानिसलाई आक्रमणको निशाना बनाउने क्रममा धादिङको हकमा भने शिक्षकमाथि पहिलो प्रहार थालेका छन् । विद्यालयमा पढाईरहेका शिक्षक विद्यालय बन्द गरेर घर फर्केका शिक्षक जिल्लाबाट अन्य शिक्षकको तलब बोकेर घर फर्केका शिक्षक पालैपालो माओवादी आक्रमणको निशाना बनिरहेका छन् । यसरी क्रमशः आक्रमण र धम्कीको निशाना बनेका शिक्षकहरुमा सत्यवती उच्च माविका प्रअ लक्ष्मण शर्मा महाकाली उच्च माविका प्रअ कृष्णप्रसाद अर्याल गोगनपानी माविका प्रअ रामहरि थापा र बागेश्वरी उच्च माविका प्रअ धु्रवराज खतिवडा रहेका छन् ।
माओवादीले शिक्षकमाथि श्रृङखलाबद्ध रुपमै गर्दै आएको आक्रमणको पछिल्लो निशाना गत भदौ २४ गते बागेश्वरी उच्च माविका प्रधानाध्यापक धु्रवराज खतिवडा बने । प्रअ खतिवडा विद्यालयमा साचालित परिक्षा सकेर तीन बजेतिर घर फर्कने क्रममा थिए । विद्यालय बन्द गरि अन्य शिक्षक संगै निस्किएका उनी विद्यालयको हाताबाट करिव सय मिटर पर सडकमा नपुग्दै माओवादीको जिम्मेवार जिल्ला स्तरीय नेताको हातबाट कुटिए । खतिवडा कुटिनुको कारण स्वयं आफै भन्न सक्दैनन् । उनी अनुमान मात्र गर्छन फरक आस्था भएर हो की आक्रमणको कारण आस्था फरक भएपनि संयोग भने अर्कै थियो ।
किन कुटिए प्रअ खतिवडा ः संवादमा आधारित
म विद्यालयमा साचालित प्रथम त्रैमासिक परिक्षा सकेर साथिहरु संगै विद्यालयको हाताबाट करिव सय मिटर पर सडकमा पुगेको थिएँ । त्यो दिन आमोवादीको आडमा माओवादी निकट मजदुर बताउने करिव पाँच सय जनाको समुहले ईन्द्रायणी सामुदायिक वनको जग्गा कब्जा गरिएकोले स्थानिय र उपभोक्ताले समुदायको वन समुदायलेनै फिर्ता पाउनु पर्ने र त्यसमा सरकारले बेवास्ता गरेको विरोधमा सडक जाम गरिएको थियो । हामी परिक्षा सकेर घर जाने तरखरमा सडकमा निस्किएका थियौं । त्यसै क्रममा बैरेनी स्थित पृथ्वीराजमार्गको पूर्व पट्टिबाट एउटा निशान गाडिमा एकहुल मानिस आए । ति को थिए के गर्न आए हामीलाई थाहा थिएन । एक्कासी हाम्रो अगाडी गाडी रोकियो गाडी भित्रैबाट चिनेको मानिसको यिनै हुन छानि छानि विचार पुर् याएर हान भन्ने आवाज आयो । हातमा लाठीबोकेका दुईदर्जन मानिस हामी माथि जाईलागे साथिहरु विद्यालय तर्फ भाग्न सफल भए म हिँड्न सकिन । मलाई चिनेकै मानिस माओवादीका जिल्ला सदस्य धु्रव सुवेदीले कुटेका हुन् । त्यस पछि म बेहास बनें थाहा पाउंदा हस्पिटरमा रहेछु । सामुदायिक बनको जग्गा कब्जागरिएको विषयमा म आफै पनि स्थानीय भएको नाताले समुदायकै हो भन्ने पक्षमा भएता पनि सडक जाम गर्ने र विरोधका अन्य गतिविधीमा मेरो सहभागिता थिएन । यस अघि पनि मेरो कुनै गल्ति थियो जस्तो लाग्दैन । अघिपछि विद्यालयका बैठकहरुमा संगै बसेर छलफल गर्ने मानिसले एक्कासी किन आक्रमण गरे अचम्म लाग्छ । तर दोसी उपर प्रशाशनले कुनै कारवाही नगर्दा अराजकलाई थप उर्जा मिलेको छ ।

संयोग अर्कै परेता पनि आक्रण गरि हाल्नु कुनै जरुरी थिएन खतिवडालाई । माओवादीको आक्रमणबाट प्रअ खतिवडाको दायाँ हात र देव्रे खुट्टा भाँचिएको छ । शरीर भरि रगत जम्नेगरि निलडाम बनाई मरणाशन्न हुनेगरि घाईते भएका छन् । विद्यालयमा काममा खटिएका शिक्षकहरु माओवादी आक्रमणको सिकार बन्दै जाँदा सबैले भन्ने गरेको विद्यालय शान्ती क्षेत्र विद्यालय फुलबारीको नारा कहिँ पनि लागु भएको पाईएको छैन । शिक्षकमाथि भएको आक्रमण रोक्न र दोसीलाइृ कारवाहि अगाडी बढाउन प्रशाशनलाई दवाव मुलक शन्देश स्वरुप विद्यार्थीले ज्ञापन पत्र शिक्षक विद्यार्थीको संयुक्त विरोध र् याली शिक्षक युनियनको विरोध कार्यक्रम जस्ता विरोधका स्वरहरु निकाल्दै सुरक्षाको याचना विद्यालय परिवारले गर् यो । तर प्रशाशन कारवाहि गर्छु भन्दै अभियुक्त आफै आउला र पकि्रउँला भनेर सर्पले मुसा ढुकेझैँ पर्खेर बसिरह्यो । यसरी दिनदहाडै कार्य क्षेत्रमा खटिएका शिक्षक माथि आक्रमण गर्नेलाई उजुरी दिँदा समेत प्रशाशनले दोसीलाई पक्राउगरि कारवाही नवढाएको आरोप शिक्षक युनियनले लगाएको छ । शक्तिको आडमा जसलाई पायो त्यसलाई दिन दिनै आक्रमण गर्दै जानेलाई प्रशाशनले कारवाही नगर्दा सर्वसाधारण जनतामा उद्दण्डतालाई प्रशाशनलेनै स्यावासी दिएर काममा लगाएको भान पर्न गएको सर्व साधारणको भनाई छ । २४ गते देखी दुई साता वित्दा पनि कार्वाहि नवढाई निरिह बनेको प्रशाशनले सर्वसाधारणलाई सुरक्षाको प्रत्याभुति नदिनु संकास्पद विषय पनि बनेको छ ।
धादिङमा पछिल्लो आक्रमणको निशाना धु्रव खतिवडा बनेपनि यस अघि थुप्रै आक्रमण र धम्की शिक्षकमाथि आएका छन् । सत्यवती उच्च मावि आदमटारका प्रधानाध्यापक लक्ष्मण शर्मालाइ २०६४ जेठ ४ गते विद्यालयकै हाता भित्र कक्षामा पढाउँदै गर्दा बाहिर बोलाएर आक्रमण गरियो । शर्मा माथि आक्रमण गर्नुको कारण माओवादी निकट शिक्षक संगठनले आयोजना गरेको शैक्षिक संस्था बन्दको बेलामा विद्यालय खोलेर वालवालिकालाई पढाएको मात्र हो । अर्को कारण शर्मा माओवादी भन्दा अलग आस्थाका थिए ।
म विद्यालयको शिक्षक शिक्षक युनियन धादिङको अध्यक्ष मेरा पनि राज्य संग माग छन् शिक्षकको आन्दोलन प्रति मेरोपनि सहमति छ तर विद्यालय बन्द गरेर हैन सरोकार वाला संग टेबुलमा बसेर र अन्य वैकल्पिक आन्दोलन गरेर आफ्नो अधिकार माग गर्नु पर्छ आफ्नो अधिकार माग गर्दा विद्यार्थीको अधिकार प्रति ध्यान दिनु पर्छ तव शिक्षक भईन्छ भन्ने मान्यता मेरो हो भन्छन् प्रअ शर्मा । प्रअ शर्मा माथि माओवादीको जिम्मेवार व्यक्तिबाटै आक्रमण भए पनि प्रशाशनले जाहेरी गर्दा समेत आलटालमै घटना झ्यासमिस बनाएर बस्यो ।
माओवादीको आक्रमण र फुसीमा लड्काउने सम्मको धम्की गत माघ १६ गते विद्यालय परिसमै सार्वजनिक कार्यक्रममा माओवादीका जिम्मेवार नेताबाट महाकाली उच्च मावि सिम्लेका प्रअ कृष्णप्रसाद अर्याल माथि आयो । आफुले नगरेको आरोप लगाएर फसाउन खोजेको भन्दै प्रशाशनमा न्यायको याचना गर्दै एक साता सम्म विस्थापित बने । अन्तमा विभिन्न हारगुहार पश्चात विद्यालयमा फर्किएका प्रअ अर्याल कुनवेला निहुँ बनाएर आफुलाई आक्रमण गर्छन त्रासले अताल्लिएर विद्यालयको काममा खटिएका छन् ।
चुनावको समयमा सहायक मतदान अधिकृत भएर जिल्लाबाट नियुक्ति पत्र र अन्य शिक्षकको तलव समेत बोकेर चैत २१ गते घर आउँदै गरेका गोगनपानी माविका प्रधानाध्यापक रामहरि थापा बाटोमै चिनेका माओवादी कार्यकर्ताको हातबाट मरणाशन्न कुटिए अन्य शिक्षलाई तलव खुवाउन ल्याएकॊ पचास हजार नगद र साथमा भएको मोवाईल लगाएतका अन्य सामान समेत लुटिए । आफुमाथि माथि कुटपिट गर्ने गाउँकै माओवादी कार्यकर्ता झिल्के थापाको नेत्रित्वमा खुकुरी र रड बोकेका मानिसले कुटपिट गरेको प्रअ थापा बताउँछन् । चार महिना सम्म अस्पतालमा उपचार गराएर फर्किएका थापा दोसीको नामै किटेर जाहेरी दिँदा समेत भेटिएन भन्ने वहानामा प्रशाशनले कार्वाहि नगरेको उनकॊ आरोप छ । प्रंअ थापा माथि आक्रमण गर्नेहरु आँखा अगाडी सानले हिँड्दा पनि निरिह बनेको प्रशाशन समाउन सक्दैन भने सर्वसाधारणलाई राज्यले दिने सुरक्षा भनेको जसले जे गर् यो छुट त होईन होला ।
यसरी संक्रमण कालमा चरणबद्ध रुपमा शिक्षक माथि माओवादी कार्यकर्ताको आक्रमण हुँदै आएको छ । धेरै घटना विद्यालय हाता भित्रै घटेका छन् । निर्धकक संग कार्यक्षेत्रमा खटिएका गुरुहरुमाथि आक्रमण भईरहँदा त्यस विद्यालयका वालवालिकाको सिकाई उपलब्धी के हुने विद्यालय भित्र आफुलाई असुरक्षित महसुस गर्नु पर्ने शिक्षकहरुले अन्य समयमा सुरक्षित छु भनेर बस्ने आधार खोई अनि नयाँ कुरा के सिकेर आउँछन थरथर काँपेर बसेका क्षिकले वालवालिकालाई सिकाउनको लागि समाजको मर्यादित पेसा हजारौं बालबालिकाको भविष्य निर्माता समाजका अगुवा व्यक्ति सबैको गुरुवा सभ्य समाजको मार्गदर्शक यि पवित्र सेवक माथि आक्रमण हुनु संग संगै असभ्यताको सृजना गर्नु पनि हो जस्तो लाग्छ ।
ति कलिला बालबालिकाको गुरुहरुमाथि विद्यालय क्षेत्र भित्रै आक्रमण हुँदा प्रत्यक्षदर्शि बनेका विद्यार्थीले के सिक्छन् जसले जे सिकायो बालबालिकाले त्यहि सिक्छन् । अनि आफ्नो संरक्षकलाई त सबैको माझमा कुटपिट गर्न सक्नेले आफुलाई के बाँकी राख्लान भन्ने त्रास बालबालिकामा संधै हुने गर्छ । ति व्यक्तिहरु विद्यालय वा बाटो घाटो जहाँ भेटिए पनि बाल मनोविज्ञानमा ति डरलाग्दा दृश्य झलझलति आउँछ । समाजमा आफुलाई सभ्य भनाउन चाहने राजनीति दलले बालबालिकाको अगाडी असभ्य काम गर्दा विचार पुर् याउँदैनन् । भोली पल्ट सभ्यता सुशाशनका खुरापाति गफ लिएर गाउँमा साना केटाकेटीका अगाडी कसरी शिर ठाडो पारेर हिँडने जव विचारै पुर् याउन नजान्नेले । यदी जो कसैले आफ्नो क्षेत्रमा नाजायज काम गर्छन भने उनीहरु सबैको मान्य हुनु पर्छ भन्ने छैन । तर कारवाहिको विकल्प सिधै आक्रमण पनि बेतुक हो । राज्यको नीति अनुरुप कार्वाहि गर्न राज्यका कानुन बगलिमै भएकालाई कसले छेकेको छ
द्वन्दका बेला माओवादीलाईनै महिनामा तलव बुझेपछि आफु सकेका र उनीहरुले मागेबमोजिमका चन्दा दिएर बाँचेका शिक्षकहरु संक्रमण कालमा माओवादीबाटै असुरक्षित बनेका छन् । चन्दा र विविध धम्कीको आतङ्क सहँदै माओवादीलाईनै सहयोग गर्दै आए पनि हाल माओवादीका कार्यकर्ताबाट कुटिएका लुटिएका र धम्कीले त्रस्त बनेका शिक्षकहरु माओवादी भन्दा फरक विचारका हुन् । पेसाले शिक्षक भएपनि विचार र आस्था जहाँसुकै राख्न अधिकार सबै नागरिकलाई छ । आफ्नो विपक्षमा उभिएका जति सबैलाई आक्रमण गर्ने नीति माओवादीको हो भने यो रवैया कतिाजेल टिक्ने । आखिर माओवादी जनताको भारी मत बोकेर राज्य सत्ताको प्रमुख घटक बनेको छ । आफु सरकारमा गएपछि आफ्नो अधिकार कति आफ्नो माताहतमा केके अधिकार छन् कसरी काम गर्ने र आगामी दिनमा यहि जनमत कसरी टिकाई राख्ने भन्ने ज्ञान समेत माओवादीमा पलाएको छैन । यस्ता अराजक कृयाकलापले कति घाटा कति नाफा विचार नपुर् याउँदा पछिल्लो परिणाम हातलाग्यो शुन्य हुन के वेर । अनि सार्वजनिक सभा समारोहमा चर्किएर भाषण गर्दा यस्तो शिक्षा नीति उस्तो शिक्षा नीति भन्दै गर्दा आफ्नो सभ्यता अर्काको अधिकार बालबालिकाको सिकाई उपलब्धी सामाजिक सम्मान लोकतान्त्रिक मान्यताका कुरा कहिले सिकेर व्यवहारमा उतार्छन र समाजका अन्य साधारण मानिसले बुझ्ने । साथै माओवादीमा विचार राख्नेले शैक्षिक वौद्धिक तथा समाजका प्रतिष्ठित प्रबुद्ध मानिसलाई सम्मानको दृष्टिले हेर्न सकेनन् भने राष्ट्रोन्नतिका सपना देख्नु व्यर्थ छ । बलको आँटमा जो कसै माथि आक्रमण गर्दै हिँडने माथि कार्वाहि नगरि काँनमा तेल हालेर बस्ने प्रशाशनमा जवाफदेहिता खोई सर्वसाधारण कुटिएको कुटियै अन्याय गर्नेलाई छुट दिने हो भने त्यस्तो प्रशाशनको आवश्यकता र आयु कति भन्ने जनताले प्रश्न गर्ने बेला आएको छ ।








Sunday, December 14, 2008

तुइनले च्यापेर चौरासीजनाको औंला गुम्यो


धादिङ, २८ मंसिर त्रिशूली नदी वारपार गर्न निर्माण गरिएको तुइनमा च्यापिएर धादिङ बैरेनी र कल्लेरी गाविसका ८४ जनाको औंला गुमेको छ । बैरेनी गाविस-९ र कल्लेरी-३ जोड्ने तुइनबाट नदी तर्ने क्रममा च्यापिएर स्थानीय बासिन्दा कतिपयको एउटा र कतिको पाँचवटै औंला गुमेको छ । औंला गुमाएका कल्लेरीका स्थानीय हीराबहादुर मल्लले कतिपयको त जोखिम यात्रा गर्दा त्रिशूलीमा खसेर मृत्यु भएको बताए । उनका अनुसार त्रिशूलीमा खसेर चारजनाले ज्यान गुमाएका छन् । नदीपारीका बासिन्दाका लागि विद्यालय, बजार तथा कुटानी-पिसानीका लागि पनि बैरेनी आउनुपर्ने बाध्यता छ । कल्लेरीका स्थानीय जगनाथ नेपालले सम्पूर्ण सुविधा पारी भएका कारण दैनिक दुई/तीनपटक तुइनबाट आवत-जावत गरिने बताए । बालबालिका पनि दैनिक तुइनबाटै विद्यालय जाने गरेका छन् । कल्लेरीकी शोभा ठकुरीले सात वर्षअघि विद्यालय जाँदा तुइनमा च्यापिएर औंला गुमाएकी छिन् । तुइनले चुँडाएको डुँडोऔंलो देखाउँदै ठकुरी भन्छिन्, 'म मात्रै होइन यो गाउँमा प्रायः सबैको यस्तै नियति हो ।' तुइनको डोरी तान्दै गर्दा एक्कासि औंला च्यापिएपछि पीडाले नदीमा खसेर कतिपयको मृत्यु भएको उनले सुनाइन् । तुइनबाट झर्नेहरू बढी विद्यार्थी नै भएको उनको भनाइ छ । तुइनबाट नदीमा खस्ने चारजना बाँचेका छन् । नदीमा खसेर पनि बाँचेकी स्थानीय सृजना ठकुरीले सरकारी उदासीनताका कारण गाउँले पीडित भएको गुनासो गरिन् । दुई गाविस जोड्न झोलुंगे पुल निर्माणका लागि पटक-पटक सर्वे गरिए पनि बन्न सकेको छैन । स्थानीय बासिन्दाले सरकारी निकायका साथै राजनीतिक दलले पुल निर्माणमा चासो नदिएको आरोप लगाएका छन् । सबैको उदासीनताका कारण नदी आसपासका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुई दशकअघि निर्माण भएको तुइन पनि मर्मत भएको छैन । तुइनको घिर्नी बिगि्रएका कारण एकजना मात्र वारपार गर्न कठिन छ । स्थानीय लीलादेवी खतिवडाले भारी र बच्चा बोक्नेहरूका लागि तुइन तान्ने अर्को व्यक्ति घरबाटै लैजानुपर्ने बाध्यता रहेको बताइन् । पृथ्वीराजमार्ग नजिकको सो गाउँका बासिन्दाले आप\mनो उत्पादन बजारसम्म पुर्‍याउन पनि कठिन छ ।