Saturday, April 4, 2009

दुर्गममा पानी पनर्दा भोकमरी को समस्या

रामेश्वर कार्की
धादिङ २२ चैत
लामो समय सम्म पानी नपरे पछि उत्तरी धादिङका विकट गाउँहरुमा खाद्य संकट हुने भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल यात्रा पछि पुगिने तिप्लिङ लापा सेर्तुङ झार्लाङ री लगाएतका हिमाली भेगका गाविसहरुमा यो वर्ष सात महिनादेखि पानी नपर्दा खाद्यान्नको समस्या उत्पन्न हुन पुगेको लापा कपुरगाउँका रामबहादुर तामाङले जानकारी दिए । हिमाली भेगका यि गाविसहरुमा धान तथा नगदेबालीको उत्पादन नहुने हुँदा गहँु जौ मकै कोदो आलु फापर जस्ता खाद्यान्न फल्ने गर्छ । यस वर्ष यि गाविसहरुमा सात महिना सम्म खडेरी परेपछि लगाएको खाद्यान्न गहुँ जौ बारीमै सुकेका छन् । पानी नपरेका कारण कोदो समेत कम फलेपछि जसो तसो छ महिना खेति बालीबाटै धान्दै आएका उनीहरुमा तीन महिनालाई समेत खाद्यान्न नपुग्ने भएको तामाङले बताए । लामो खडेरीका कारण गहँु जौ सुकेपछि सुक्खा बारीमा रोपेको मकै समेत दुई महिना वित्न लाग्दा पनि उमि्रएको छैन । हिमाली भेगका यि गाविसहरुमा अन्य खाद्यान्न बालीहरु हुँदैन । छ महिनाको लागि खेतिपाती र छ महिना भारी बोकेर र जडिबुटी संकलन गरेर जीविका धान्दै आएका उनीहरु यस वर्ष समस्यामा परेका छन् । पानी र हिउँ नपरेकै कारण हिमाली भेगमा यो वर्ष जडिबुटी कम उमि्रएको लापा रिचेतका टेकबहादुर गुरुङले जानकारी दिए । यस क्षेत्रमा पाईने लोकता चिराईतो पाँचऔंले जटामसी निरमसी यासा्रगुम्बा जस्ता जडिबुटी समेत भेटिन छाडेको गुरुङले बताए । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दुरीमा पुगिने सो बस्तिमा तत्काल खाद्यान्न पुर् याउन समेत कठिनाई पर्छ । धादिङबेसीबाट दुई सय पचास रुपैयाँ मोटरभाडा तिरेर पुगिने किन्ताङफेदी बाट खच्चरले सामान ढुवानी गर्छ । किन्ताङबाट लापा तिप्लिङमा पुर् याएको ढुवानी भाडा मात्र प्रति किलो २२ रुपैपा तिर्नु पर्ने लापाका दिनेश तामाङले बताए । दुर्गमका वस्तिहरुमा खाद्यान्न आपुर्ति गर्नका लागि खाद्यडिपोको माग गर्दै आएका तामाङ यो वर्ष बेलैमा विचार नपर् याए हिमाली भेगका मानिस भोक भोकै मर्न सक्छन् भन्छन् । तामाङ र गुरुङको मात्र बसोबास रहेको यस क्षेत्रमा जडिबुटी र भेडा पालन मुख्य व्यवसायहो । यस भेगका मानिसहरुले सरकारी तवरबाटै जडिबुटि संकलन तथा प्रशोधन केन्द्र र कृषि तथा खाद्य डिपो सहयोग गर्न माग गरेका छन् ।

No comments: